Wednesday, July 29, 2026
बुधबार, श्रावण १३, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
खेलकुद

समूह ‘बी’ : नकआउट नजिक क्यानडा र स्विट्जरल्यान्ड, पहिलो जितको खोजीमा कतार र बोस्निया

फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत अन्तिम राउन्डका खेलहरू बुधबार रातिदेखि सुरु हुँदैछन् । समूह चरणको अन्तिम खेल भएकाले एउटै समूहका दुवै खेल एकै समयमा हुनेछन् । पहिलो चरणमा समूह ‘बी’ का खेलहरू हुँदैछन्, जहाँ चारै टोलीको भविष्य अन्तिम ९० मिनेटले तय गर्नेछ।

भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा राति पौने १ बजे क्यानडा र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन् । सोही समयमा सिएटल स्टेडियममा कतार र बोस्निया एन्ड हर्जगोभियाबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘बी’ बाट हालसम्म कुनै पनि टोलीले नकआउट चरणमा स्थान सुरक्षित गर्न सकेको छैन । दुई खेलपछि क्यानडा र स्विट्जरल्यान्ड समान ४ अंकसहित शीर्ष दुई स्थानमा छन् भने कतार र बोस्निया एन्ड हर्जगोभियाको समान १–१ अंक छ।

क्यानडाले कतारलाई ६–० ले हराएको थियो भने बोस्नियासँग १–१ को बराबरी खेलेको थियो । स्विट्जरल्यान्डले कतारसँग १–१ को बराबरी खेल्दै बोस्नियामाथि ४–१ को प्रभावशाली जित निकालेको थियो ।

क्यानडा र स्विट्जरल्यान्डबीचको खेलको विजेता समूह विजेता बन्दै सिधै नकआउट चरणमा पुग्नेछ । बराबरी भएमा दुवै टोली अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बलियो रहनेछ । हार्ने टोलीको पनि अर्को खेलको नतिजामा निर्भर रहँदै नकआउट सम्भावना जीवित रहनेछ।

उता, कतार र बोस्निया एन्ड हर्जगोभियाका लागि भने जित अपरिहार्य बनेको छ। हार्ने टोलीको विश्वकप यात्रा समूह चरणमै समाप्त हुनेछ। विजेता टोलीले भने अर्को खेलको नतिजा अनुकूल आएमा नकआउट चरण पुग्ने आशा कायम राख्नेछ।

इतिहास रच्ने संघारमा क्यानडा

सह–आयोजक क्यानडा विश्वकप इतिहासमा अहिलेसम्म कहिल्यै नकआउट चरणमा पुग्न सकेको छैन। तर घरेलु मैदानमा स्विट्जरल्यान्डविरुद्ध हुने खेलमा जित वा बराबरी निकाल्न सके क्यानडाले पहिलोपटक अन्तिम १६ को यात्रा तय गर्दै नयाँ इतिहास रच्नेछ।

पहिलो खेलमा बोस्नियासँग १–१ को बराबरी खेलेको क्यानडाले दोस्रो खेलमा कतारमाथि ६–० को शानदार जित निकाल्दै आत्मविश्वास बढाएको छ। यद्यपि, लगातार तीन विश्वकपमा अन्तिम १६ सम्म पुगेको स्विट्जरल्यान्डविरुद्ध सफलता हासिल गर्न उसलाई सहज हुने छैन।

स्विट्जरल्यान्ड पनि अर्को चरणमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ। कतारसँग बराबरी र बोस्नियामाथि फराकिलो जित निकालेको टोलीले क्यानडाविरुद्ध कम्तीमा एक अंक जोड्न चाहे पनि जितमार्फत समूह विजेता बन्ने लक्ष्य राखेको छ।

यी दुई टोलीबीच २४ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् २००२ मा भएको एकमात्र भेटमा क्यानडाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गरेको थियो।

कतार र बोस्नियाको ‘गर या मर’ भिडन्त

समूह ‘बी’ को अर्को खेलमा जितविहीन रहेका कतार र बोस्निया एन्ड हर्जगोभिया आमनेसामने हुँदैछन्। दुवै टोली पहिलोपटक विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

बोस्नियाले पहिलो खेलमा क्यानडासँग १–१ को बराबरी खेले पनि दोस्रो खेलमा स्विट्जरल्यान्डसँग ४–१ को हार बेहोरेको थियो। कतारले स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेलेको भए पनि दोस्रो खेलमा क्यानडासँग ६–० को लज्जास्पद हार व्यहोरेको थियो।

त्यसैले विश्वकपमा आफ्नो यात्रा जीवित राख्न दुवै टोलीलाई जित अनिवार्य छ। यद्यपि, जित मात्र पर्याप्त नहुन सक्छ। समूहको अर्को खेलको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्नेछ।

बोस्निया एन्ड हर्जगोभिया र कतार दुवैले दोस्रोपटक विश्वकप खेलिरहेका हुन्। बोस्नियाले सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको थियो भने कतारले सन् २०२२ मा आयोजक राष्ट्रका रूपमा सहभागिता जनाएको थियो। दुवै टोलीको अघिल्लो विश्वकप यात्रा समूह चरणमै समाप्त भएको थियो र यसपटक इतिहास बदल्ने अवसरको खोजीमा छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्