Sunday, September 13, 2026
आइतबार, भाद्र २८, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.07 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

मन्त्रिपरिषद्को निर्णय: नौ विधेयक संसदमा लैजाने स्वीकृति, सहकारी व्यवस्थापन समितिमा नयाँ सदस्य मनोनयन

काठमाडौं, साउन १३ — सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुन निर्माणसँग सम्बन्धित नौ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नौ वटा विधेयक संसदमा दर्ता गर्ने स्वीकृति दिइएको जानकारी दिए।

मन्त्रिपरिषद्ले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, शर्त तथा सुविधा सम्बन्धी ऐन, खानी तथा खनिज पदार्थसम्बन्धी कानुन, सङ्क्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण), बालश्रम (निषेध तथा नियमित गर्ने), आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप सम्बन्धी ऐन तथा कर्मचारी सञ्चयकोष ऐन संशोधनसम्बन्धी विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो।

बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ।

यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको सरकारका प्रवक्ताले जानकारी दिए।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित केही विषयमा पनि मन्त्रिपरिषद्ले निर्णय गरेको भए पनि ती निर्णयहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्