र्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीहरूलाई सरकारको "एक पटकको नेपाली, सधैँको नेपाली" भन्ने नीतिमा विश्वस्त रहन आग्रह गर्नुभएको छ। उहाँले प्रवासी नेपालीहरूलाई नेपालको विकास, सुशासन र आर्थिक समृद्धिका महत्त्वपूर्ण साझेदार तथा सद्भावना दूतका रूपमा अघि आउन आह्वान गर्नुभएको हो।
शनिबार अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूले आयोजना गरेको सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले प्रवासी नेपालीसँगको सम्बन्धलाई थप मजबुत बनाउने स्पष्ट नीति लिएको बताउनुभयो।
"एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ। ढुक्क हुनुहोस्, 'एक पटकको नेपाली, सधैँको नेपाली' हौँ," उहाँले भन्नुभयो।
अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ सरकार गठन भएपछि सुशासन स्थापना, सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने र अर्थतन्त्रलाई पुनर्जीवित गर्ने दिशामा उल्लेखनीय काम सुरु भएको दाबी गर्नुभयो। पछिल्ला एक सय दिनमा सरकारले उच्च इमानदारी, पारदर्शिता र शून्य सहनशीलताको नीतिका साथ काम गरिरहेको उहाँको भनाइ थियो।
"सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म सबैले उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहनुभएको छ। मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रको सुधारका लागि थालिएका कदम पछिल्लो एक दशककै सुनौलो सुधारको सुरुवात हुन्," उहाँले भन्नुभयो।
उहाँले बजेटमार्फत कर प्रणाली, राजस्व व्यवस्थापन, बजेट वितरण र लगानीको वातावरण सुधारका लागि नयाँ पहल गरिएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्नुभयो।
नेपालमा गरिएको वैध विदेशी तथा व्यक्तिगत लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आफ्नै लगानी वा विदेशी लगानी नेपाल भित्र्याउन अग्रसर हुन आग्रह गर्नुभयो।
अर्थमन्त्री वाग्लेले सरकारले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता नयाँ अवधारणामार्फत प्रवासी नेपालीको लगानी आकर्षित गर्ने नीति अघि सारेको जानकारी दिनुभयो। यी व्यवस्था सरकारी खाताभन्दा बाहिरबाट पनि अर्थतन्त्रमा पूँजी प्रवाह बढाउने उद्देश्यले ल्याइएको उहाँले स्पष्ट पार्नुभयो।
सरकारले थप के–कस्ता सहजीकरण गर्नुपर्ने हो भन्ने विषयमा पनि स्पष्ट सुझाव दिन प्रवासी नेपालीहरूलाई आग्रह गर्दै उहाँले अस्ट्रेलियामा रहेका नेपालीहरू नेपालको समृद्धिका महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्नुभयो।
"तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ। देश बनाउने साझा उद्देश्यका लागि सबै एक भएर हातेमालो गरौँ," उहाँले भन्नुभयो।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्