काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले मधेश यात्राका क्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायबाट प्राप्त सुझाव र अनुभवले आगामी शिक्षा ऐन तथा राष्ट्रिय पाठ्यक्रम निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताएकी छन्।
भदौ २६ गते बिहान धनुषाबाट सुरु भएको मधेश यात्रा सप्तरीस्थित महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको हो। यात्रा सम्पन्न भएपछि मन्त्री पोखरेलले काठमाडौंमा बसेर मात्रै थाहा पाउन नसकिने शिक्षा क्षेत्रका वास्तविक समस्या प्रत्यक्ष रूपमा सुन्ने र बुझ्ने अवसर यात्राका क्रममा प्राप्त भएको बताइन्।
उनका अनुसार यात्राका क्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा समुदायका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गरी शिक्षा क्षेत्रका समस्या, आवश्यकता र अपेक्षाबारे महत्वपूर्ण सुझाव संकलन गरिएको छ।
मधेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको आवश्यकता ठूलो रहेको यात्राका क्रममा थप स्पष्ट भएको मन्त्री पोखरेलले बताइन्। त्यस्तै, कृषि शिक्षा विस्तार तथा कृषि कलेज स्थापनाको आवश्यकता पनि महत्वपूर्ण रहेको उनको भनाइ छ।
बर्दिबासमा निर्माण हुने प्रस्तावित मेडिकल कलेजको स्थलमा पुगेर स्थानीयवासीसँग भेटघाट तथा अन्तरक्रिया गर्ने अवसरसमेत प्राप्त भएको मन्त्री पोखरेलले जानकारी दिइन्।
मधेश यात्राका क्रममा प्राप्त सुझाव, आवाज र अनुभवलाई तथ्य तथा प्रमाणमा आधारित दस्तावेजका रूपमा समेटिने उनले बताइन्। वास्तविक समस्या र आवश्यकतालाई पहिचान गरी नीति निर्माण गर्ने उद्देश्यले गरिएको यात्राबाट प्राप्त सुझावले आगामी शिक्षा ऐनलगायतका कानुन तथा नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणमा ठोस सहयोग पुग्ने उनको विश्वास छ।
मन्त्री पोखरेलले मधेश यात्रा सम्पन्न भएपछि पूर्वाञ्चल विश्वविद्यालयको भ्रमणका लागि अघि बढ्ने र त्यसपछि काठमाडौं फर्किने जानकारी दिइन्।
यात्रामा साथ, सहयोग र समय दिने जनप्रतिनिधि, मन्त्रालयका कर्मचारी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, शिक्षक, विद्यार्थी, अभिभावक, समुदायका प्रतिनिधि तथा सम्पूर्ण मधेशवासीप्रति उनले धन्यवाद व्यक्त गरिन्।
“मधेशले धेरै कुरा सुनायो। अब ती आवाजलाई नीतिमा समेट्ने जिम्मेवारी हाम्रो हो,” मन्त्री पोखरेलले भनिन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्