बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ रातोपुल नजिक रहेको श्रीराम खाद्य उद्योग (राइस मिल) मा भएको चोरी प्रकरणमा इलाका प्रहरी कार्यालय जीतपुरले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरीले चोरी भएका अन्दाजी ४ लाख १५ हजार रुपैयाँ बराबरका सामग्री बरामद गर्दै अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार उद्योग सञ्चालक जीतपुरसिमरा–७ निवासी ५५ वर्षीय रामबाबु प्रसाद साह कलवारले शुक्रबार दिउँसो २:५० बजे उद्योगबाट विभिन्न सामग्री चोरी भएको भन्दै लिखित निवेदन दिएका थिए। उद्योगको कम्पाउन्ड तथा पर्खाल नभएको र लामो समयदेखि जीर्ण अवस्थामा रहेको मौकाको फाइदा उठाएर अज्ञात व्यक्तिले चोरी गरेको उजुरीमा उल्लेख छ।
उजुरी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी निरीक्षक उमेश निरौलाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो।
अनुसन्धानका क्रममा प्रहरी टोलीले कार्यालयबाट करिब दुई किलोमिटर उत्तरतर्फ रहेको स्थानबाट चोरीमा प्रयोग भएको आशंकासहित १,५०० थान ग्यासको भाँडो राख्ने चुलो बरामद गरेको प्रहरीले जनाएको छ। चोरीका सामग्री लोड गरिएको एक ट्र्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। ट्र्याक्टरमा चोरीका सामग्रीसँगै केही नयाँ सामानसमेत भेटिएकाले ती सामानको स्रोतबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले जीतपुरसिमरा–५ निवासी २२ वर्षीय बादल मिया, जीतपुरसिमरा–७ निवासी ३० वर्षीय वृक्ष महतो र २८ वर्षीय राजु जैसवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
बरामद गरिएका सामग्री चोरी भएका सामान नै हुन् वा होइनन् भन्ने विषयमा उद्योग सञ्चालकबाट पहिचान गराउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। साथै, घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुन सक्ने भन्दै अनुसन्धान विस्तार गरिएको छ।
प्रहरीका अनुसार चोरी भएका सबै सामग्रीको खोजी तथा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्