Friday, June 12, 2026
शुक्रबार, जेठ ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.81 SELL AUD/NPR 109.69 SELL BHD/NPR 407.24 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

दरबार हत्याकाण्डमा नयाँ मोड, तत्कालीन गृहमन्त्रीमाथि अनुसन्धानको माग

नेपालको राजनीतिक इतिहासकै सबैभन्दा संवेदनशील घटना ‘दरबार हत्याकाण्ड’ फेरि एकपटक चर्चामा आएको छ। घटनासम्बन्धी अनुसन्धानलाई लिएर नयाँ बहस सुरु भएको छ, जसले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ।

वरिष्ठ अधिवक्ता स्वगत नेपालले तत्कालीन गृहमन्त्री तथा हालका राष्ट्रपति रामचन्द्र पौडेललाई पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग सार्वजनिक गरेका छन्। उनले घटनाको सत्यतथ्य पत्ता लगाउन पुराना उच्च पदस्थ व्यक्तिहरू पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन्।

स्वगत नेपालका अनुसार, दरबार हत्याकाण्ड जस्तो ऐतिहासिक र रहस्यमय घटनामा कुनै पनि जिम्मेवार पदाधिकारीलाई उन्मुक्ति दिन नहुने भन्दै राज्यले निष्पक्ष, स्वतन्त्र र गम्भीर छानबिन प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

उनको भनाइपछि सामाजिक सञ्जालमा पनि यो विषय पुनः चर्किएको छ। कतिपयले पुरानो घटनाको पुनः अनुसन्धान आवश्यक रहेको तर्क गरेका छन् भने कतिपयले यस्ता मागले संवैधानिक पदमा रहेका व्यक्तिहरूलाई विवादमा तान्न खोजिएको टिप्पणी गरेका छन्।

२०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको उक्त घटनामा राजा वीरेन्द्रसहित राजपरिवारका १० सदस्यको ज्यान गएको थियो। घटना अझैसम्म पनि नेपालकै सबैभन्दा विवादित र रहस्यमय राजनीतिक घटनामध्ये एक मानिन्छ।

हाल उठेको यो मागपछि दरबार हत्याकाण्ड पुनः राजनीतिक तथा कानुनी बहसको केन्द्रमा आएको छ।


टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्