हेटौंडा उपमहानगरपालिका–१५ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा खहरे उत्खननको नाममा सालका रुख कटान तथा ढुंगा, गिटी र बालुवाको अवैध उत्खनन भइरहेको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
स्थानीयका अनुसार वन क्षेत्रमा पछिल्लो समय प्राकृतिक स्रोतसाधनको अनियन्त्रित दोहन बढ्दै गएको छ। सालका बहुमूल्य रुखहरू कटान हुनुका साथै ढुंगा, गिटी र बालुवाको जथाभावी उत्खनन भइरहेका कारण वनको दीर्घकालीन संरक्षण, जैविक विविधता तथा वातावरणीय सन्तुलनमा नकारात्मक असर पर्ने खतरा बढेको उनीहरूको भनाइ छ।
यस विषयमा सामाजिक संस्था सेवा सहयोग आवाज हामीका अध्यक्ष बिसाल राज महतले विश्व वातावरण दिवसका अवसरमा गरिने औपचारिक कार्यक्रमले मात्र वातावरण संरक्षण सम्भव नहुने भन्दै व्यवहारमा पनि संरक्षणका गतिविधि प्रभावकारी हुनुपर्ने बताएका छन्।
उनले वन क्षेत्रमा भइरहेको भनिएको अवैध गतिविधिबारे सम्बन्धित निकायले तत्काल स्थलगत अनुगमन गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। साथै, दोषी ठहरिने व्यक्तिमाथि कानुनी कारबाही गरिनुपर्ने र प्राकृतिक सम्पदाको संरक्षण सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।
स्थानीयवासीहरूले पनि वन क्षेत्रमा भइरहेको भनिएको अवैध उत्खनन र रुख कटान रोक्न तथा वन संरक्षण सुनिश्चित गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्। उनीहरूले समयमै आवश्यक कदम नचालिए वातावरणीय क्षति थप गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्