काठमाडौं । सन् २०२६ को अप्रिल महिनामा नेपालमा एक लाख ७ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड ले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त महिनामा कुल १ लाख ७ हजार ९३४ विदेशी पर्यटक नेपाल आएका हुन् ।
बोर्डका अनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसिया (सार्क) बाट सबैभन्दा बढी पर्यटक आएका छन् । सार्क मुलुकबाट ३३ हजार ४३२ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब ३१ प्रतिशत हो ।
त्यसपछि एसियाली अन्य मुलुकबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट १ हजार ६९७ र अफ्रिकी मुलुकबाट ३१५ पर्यटक नेपाल आएका छन् । अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
देशगत रूपमा हेर्दा भारत प्रमुख स्रोत बजारका रूपमा देखिएको छ । भारतबाट १५ हजार १९६ पर्यटक आएका छन् । त्यस्तै चीनबाट ११ हजार ७२२ र बंगलादेशबाट ५ हजार २३१ पर्यटक भित्रिएका छन् ।
बोर्डका अनुसार पछिल्लो समय अन्य एसियाली मुलुक, युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या पनि क्रमशः बढ्दै गएको छ, जसले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्छ ।
तुलनात्मक रूपमा सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटक नेपाल आएका थिए भने कोरोना महामारीअघि सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक भित्रिएका थिए ।
बोर्डले पछिल्लो समय पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण हवाई पहुँचमा अवरोध र अन्तर्राष्ट्रिय प्रवर्द्धन प्रभावित हुँदा अप्रिल महिनाको पर्यटक आगमनमा केही असर परेको जनाएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्