Wednesday, June 03, 2026
बुधबार, जेठ २०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.77 SELL AUD/NPR 109.94 SELL BHD/NPR 406.90 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

झापा–५ उम्मेदवार बालेन्द्र शाह (बालेन): इन्जिनियर, र्‍यापर र मेयरको यात्रा

३६ वर्षीय बालेन्द्र शाह (बालेन) पेशाले इन्जिनियर हुन्। ४ वर्ष अघि मात्र र्‍यापरका रूपमा नयाँ पुस्ताबीच परिचित भएका उनले काठमाडौं महानगरको मेयरमा विजयी भएसँगै चर्चा कमाएका छन्।

२०७९ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयरको उम्मेदवारी दिएको बेलामा धेरै राजनीतिक विश्लेषक र सञ्चार माध्यमले उनलाई खासै नोटिस गरेका थिएनन्। तर मतदाताको बदलिँदो मनोविज्ञानले चुनावको नतिजामा स्पष्ट संकेत देखायो।

गौरीगाउँ जन्मेका शाह, आयुर्वेदिक चिकित्सक डा. राम नारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन्। उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्। पेशागत कामको क्रममा उनी देशका ६५ जिल्ला पुगेका छन्। २०७२ सालको महाभूकम्पपछि उद्धार र राहत कार्यमा सक्रिय भई समाजसेवीको छवि पनि बनाएका थिए।

शाह नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, र्‍यापर र कवि-लेखक हुन्, तर उनको राजनीतिक अवतार सामाजिक सञ्जालमा बढी चर्चित छ। स्थानीय निर्वाचनताका बेला फिल्म, संगीत र फेसन क्षेत्रका अनेक सेलिब्रिटीहरूले खुलेरै उनको समर्थन गरे।

उनले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि राखे। मेयरको उम्मेदवार हुँदा उनले डिग्रीभन्दा सिपमा आधारित रोजगारी र विकासमै जोड दिएका थिए। रास्वपा प्रवेशपछि जनकपुरको सभामा उनले भने, “म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछु। काठमाडौंले अवसर दिए, देखाएँ। अब तपाईंहरू दिनुहुन्छ?”

शाहले मिथिलालाई वेडिङ डेस्टिनेसन बनाउने, निजी विद्यालयमा २० हजार विद्यार्थीको निःशुल्क पढाइ देशव्यापी बनाउन चाहेको जस्ता योजनाहरू सुनाएका छन्। संघीयताप्रतिको प्रतिबद्धता जनाउँदै उनले भने, “पहिला प्रदेश बलियो बनाउनुपर्छ। अधिकार माग्न होइन, विकासका लागि योजना गर्नुपर्छ।”

राजनीतिक रूपमा अनुकूलता–प्रतिकूलता पनि छन्। युवा मतदाताको रोजाइले उनलाई बल प्रदान गर्न सक्छ। तर पुराना दलप्रति ‘बफादार’ मतदाता धेरै रहेको अवस्थामा केवल चुनावी लहरको भरमा विजय पाउनु चुनौतीपूर्ण हुनसक्छ। शाहले उठाएको जोखिम ठूलो छ; गत निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २८,५७६ मतान्तरसहित पराजित गर्ने चुनौती उनीमाथि छ।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्