Friday, July 31, 2026
शुक्रबार, श्रावण १५, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.35 SELL BHD/NPR 410.61 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाइन्सका कर्मचारी ५४ लाख रुपैयाँसहित पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाइन्सका एक कर्मचारी ५४ लाख ७१ हजार रुपैयाँभन्दा बढी रकमसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनसरी गढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको बनस्थली बस्ने ४२ वर्षीय कमलनारायण विश्वास रहेका छन्। उनी नेपाल एयरलाइन्समा ग्राउन्ड इक्युपमेन्ट अपरेटरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार विश्वास सोमबार राति करिब साढे ८ बजे बाटिक एयरको उडानमार्फत मलेसियाको क्वालालम्पुर जान लागेका थिए। नियमित सुरक्षा जाँचका क्रममा उनको लगेजभित्र रहेको फलामको कराईमा लुकाएर राखिएको विभिन्न देशका मुद्रा फेला परेको थियो।

प्रहरीले उनको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन तथा जापानी मुद्रा बरामद गरेको जनाएको छ। बरामद गरिएको रकमको नेपाली मूल्य ५४ लाख ७१ हजार ६ सय ८९ रुपैयाँ ३२ पैसा रहेको छ।

प्रहरीका अनुसार विश्वास विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए। साथै, उनी यसअघि २६ पटक विभिन्न मुलुकको भ्रमण गरिसकेको तथ्य पनि खुलेको छ।

बरामद रकमको स्रोत र विदेश लैजान खोजिएको उद्देश्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि विश्वासलाई सम्बन्धित निकायको जिम्मा लगाइएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्