बुधबार भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प जाँदा कम्तिमा २३५ जनाको मृत्यु भएको छ भने ४० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले जनाएका छन्।
भूकम्पका कारण राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् भने हजारौं मानिस विस्थापित भएका छन्। स्थानीय बासिन्दा त्रासका कारण घरबाहिर खुला स्थानमा बसिरहेका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्प ७.१ म्याग्निच्युडको थियो। यसको केन्द्रबिन्दु देशको क्यारिबियन तटीय क्षेत्रमा पर्ने मोरोन समुदायको पश्चिममा, राजधानी काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा रहेको थियो। भूकम्पको गहिराइ २२ किलोमिटर मापन गरिएको थियो।
पहिलो भूकम्प गएको करिब एक मिनेटपछि ७.५ म्याग्निच्युडको दोस्रो तथा अझ शक्तिशाली भूकम्प गएको यूएसजीएसले जनाएको छ। दोस्रो भूकम्पको केन्द्रबिन्दु मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो भने यसको गहिराइ १० किलोमिटर रहेको थियो।
यूएसजीएसले प्रारम्भिक मूल्याङ्कनमा ठूलो मानवीय तथा भौतिक क्षति हुने सम्भावना रहेको जनाएको छ। उद्धार टोलीहरू भग्नावशेष हटाउँदै बेपत्ता व्यक्तिहरूको खोजीमा जुटेका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्