भारतमा सामाजिक सञ्जालबाट सुरु भएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अभियानले सडक आन्दोलनको रूप लिँदै गएको छ । शिक्षा क्षेत्रमा देखिएका अनियमितता र परीक्षा प्रणालीप्रति बढ्दो असन्तोषका बीच सीजेपीका समर्थकहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै राजधानी नयाँ दिल्लीमा निरन्तर धर्ना जारी राखेका छन्।
प्रहरीको निर्देशनलाई बेवास्ता गर्दै प्रदर्शनकारीहरू सडक र फुटपाथमै रात बिताइरहेका छन्। जुन महिनाको चर्को गर्मीका बाबजुद आन्दोलनमा सहभागीहरूको संख्या बढिरहेको छ। दोस्रो दिन थप युवाहरू प्रदर्शनमा सहभागी भएको बताइएको छ।
आन्दोलनका अगुवा अभिजित दिपके विदेशबाट भारत फर्किएपछि सामाजिक सञ्जालमा सीमित रहेको अभियानलाई सडक आन्दोलनमा रूपान्तरण गरेका हुन्। भारतको करिब १ अर्ब ४० करोड जनसङ्ख्यामध्ये ठूलो हिस्सा २५ वर्षमुनिका युवाहरू रहेको र उनीहरूमा शिक्षा प्रणालीप्रति असन्तोष बढ्दै गएको सन्दर्भमा यो आन्दोलनले गति लिएको छ।
पछिल्ला वर्षहरूमा विभिन्न सार्वजनिक परीक्षाका प्रश्नपत्र चुहावट, नतिजा प्रकाशनमा त्रुटि तथा अन्य अनियमितताका घटनाले विद्यार्थी र युवाहरूमा व्यापक निराशा पैदा गरेको छ। यही असन्तोषलाई आधार बनाएर सीजेपीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको छ।
यो अभियान सुरुवातमा सामाजिक सञ्जालमा व्यङ्ग्य र मजाकका रूपमा देखा परेको थियो। मे महिनामा भारतका प्रधानन्यायाधीशले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गरेको भनाइप्रति सामाजिक सञ्जालमा आलोचना भएपछि दिपकेले एक्स (पूर्व ट्विटर) मा ‘यदि सबै कक्रोचहरू एकजुट भए भने के होला?’ भन्ने टिप्पणी गरेका थिए। उक्त पोस्ट भाइरल बनेपछि आन्दोलनले व्यापक चर्चा पाएको थियो।
त्यसपछि दिपकेले अभियानको आधिकारिक वेबसाइट सञ्चालनमा ल्याए भने यसको इन्स्टाग्राम पृष्ठमा २ करोड २० लाखभन्दा बढी फलोअर पुगेको दाबी गरिएको छ। समर्थकहरूले यो संख्या भारतको सत्तारुढ दलको सामाजिक सञ्जाल उपस्थितिभन्दा पनि बढी रहेको बताएका छन्।
जुन ६ मा नयाँ दिल्लीमा पहिलो प्रदर्शन आयोजना गरेपछि आन्दोलन मुम्बई, बेंगलुरु, नागपुरलगायतका सहरमा विस्तार भएको छ। ती स्थानहरूमा पनि सयौँ युवाहरू विभिन्न प्रदर्शन तथा धर्ना कार्यक्रममा सहभागी हुँदै आएका छन्।
विश्लेषकहरूले सामाजिक सञ्जालबाट जन्मिएको यो अभियानले भारतका युवाहरूको बढ्दो असन्तोष र राजनीतिक सहभागिताको नयाँ स्वरूपलाई उजागर गरेको टिप्पणी गरेका छन्।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्