Wednesday, July 29, 2026
बुधबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

गोरखामा रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन: सुधन गुरुङले दिए राजनीतिक सन्देश, छानबिनमा सफाइ पाउनेमा विश्वास

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद सुधन गुरुङ ले गोरखामा आयोजित रास्वपाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा सहभागी हुँदै आफ्नो सम्पत्ति सम्बन्धी छानबिन र राजनीतिक भविष्यबारे महत्वपूर्ण टिप्पणी गर्नुभएको छ।

उहाँले छानबिन समितिबाट आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताउँदै सार्वजनिक पदमा रहँदा उठेका सबै प्रश्नको जवाफ दिन आफू तयार रहेको स्पष्ट पार्नुभयो।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु।”

छानबिन समितिमा ‘ठट्यौली’ प्रसंग

समितिसमक्ष बयान दिने क्रममा भएको एउटा रोचक प्रसंग उल्लेख गर्दै गुरुङले कार्यक्रमलाई हल्का शैलीमा हँसाउनुभयो। उहाँले भन्नुभयो, “समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो?’ भनेर प्रश्न गर्‍यो। मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ।”

उहाँका अनुसार छानबिन समितिको प्रतिवेदन हाल प्रधानमन्त्री कार्यालयमा पुगिसकेको छ र आफूले त्यसबाट सफाइ पाउनेमा विश्वस्त हुनुहुन्छ।

“फेरि गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू”

सम्भावित राजनीतिक पुनरागमनबारे संकेत गर्दै उहाँले फरक शैलीको आग्रह पनि राख्नुभयो। उहाँले भन्नुभयो, “यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला।”

उहाँले प्रारम्भिक समयमा कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरेको बताउनुभयो।

संगठन सुदृढीकरणमा जोड

अधिवेशनमा बोल्दै गुरुङले पार्टी संगठन निर्माण र नेतृत्व शैलीबारे पनि धारणा राख्नुभयो। उहाँले जिल्लाको नेतृत्व राजधानी केन्द्रित नभई जिल्लामै बसेर काम गर्नुपर्नेमा जोड दिनुभयो।

“अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ,” उहाँले भन्नुभयो, “राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन।”

कार्यक्रममा उहाँले आफू गृहमन्त्री हुँदा जनताबाट प्राप्त सहयोग र विश्वासलाई स्मरण गर्दै गोरखाका मतदाताप्रति आभार पनि व्यक्त गर्नुभयो।

तस्विरहरू

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्