Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सामाजिक सञ्जालमा आलोचना भएपछि सांसद भट्टराईको स्पष्टीकरण सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो पुरानो भिडियो भाइरल भएपछि स्पष्टीकरण दिँदै भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउने बताएकी छिन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा भट्टराई गुडिरहेको कारको झ्यालबाट शरीर बाहिर निकालेर रमाउँदै गरेको भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो । त्यसपछि उनले उक्त भिडियो हालको नभई आफ्नो सार्वजनिक जिम्मेवारी सुरु हुनुअघि व्यक्तिगत यात्राका क्रममा खिचिएको पुरानो भिडियो भएको स्पष्ट पारेकी छिन् ।

उनका अनुसार भिडियो कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित होइन ।

‘सबैभन्दा पहिले, उक्त भिडियो हालको नभई धेरै अघि व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो हो। सो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिपूर्वको निजी समयसँग सम्बन्धित रहेको कुरा स्पष्ट गर्न चाहन्छु,’ उनले भनेकी छिन्, ‘उक्त भिडियो कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित थिएन। यो मेरो निजी जीवनको एक सामान्य र सहज क्षण मात्र थियो ।’

भट्टराईले भिडियोमा देखिएको गतिविधिलाई राजनीतिक वा सार्वजनिक सन्देशसँग जोडेर गरिएको व्याख्या उचित नभएको बताएकी छिन् । सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन पनि हुने भन्दै उनले त्यसको सम्मान हुनुपर्ने धारणा राखेकी छिन् ।

‘सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूप्रति नागरिकहरूको चासो स्वाभाविक हुन्छ र म त्यसको सम्मान गर्दछु । तर सार्वजनिक पदमा रहँदैमा व्यक्तिले आफ्नो निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार गुमाउँदैन भन्ने विश्वास राख्दछु,’ उनले भनेकी छिन् ।

उनले सडक सुरक्षा र ट्राफिक नियम सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै भिडियोमा देखिएको व्यवहार ट्राफिक दृष्टिकोणले उपयुक्त नहुन सक्ने पनि स्वीकार गरेकी छिन् ।

‘विगतका यस्ता अनुभवहरूबाट सिक्दै भविष्यमा म स्वयंले पनि यस्ता गतिविधि दोहोर्‍याउने छैन र सम्पूर्ण नागरिकहरूलाई समेत ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गर्दछु,’ उनको भनाइ छ ।

यसैबीच, रास्वपाले पछिल्ला दिनमा सार्वजनिक हुने आफ्ना नेताहरूको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा निरन्तर बहस भइरहेको छ । पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा औपचारिक प्रतिक्रिया भने दिएको छैन ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्