Saturday, August 01, 2026
शनिबार, श्रावण १६, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.24 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

आजबाट समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन ३ सय ७८ जनाले पाए बचत

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरेको छ। लामो समयदेखि बचत फिर्ताको पर्खाइमा रहेका बचतकर्ताले सोमबारदेखि रकम पाउन थालेका हुन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पहिलो दिन तीन वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरिएको हो।

समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना तथा पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका छन्।

समितिले सुरुमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको जनाएको छ। अब भने बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिने बताइएको छ।

समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।

समितिका अनुसार पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल ७६ हजार बचतकर्तामध्ये १८ हजार जनाले पाँच लाखभन्दा बढी रकम बचत गरेको तथ्यांक छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले बचत फिर्तासँगै ऋण असुली प्रक्रिया पनि तीव्र बनाइएको बताइन्।

उनले समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक हुन थालेपछि ऋण तिर्न आउने क्रम बढेको उल्लेख गरिन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार हालसम्म ऋणीहरूबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल भएको छ। समितिले ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अघि बढाइने जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्