सिंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेपछि संघीय संसद्मा जारी गतिरोध तत्काल अन्त्य नहुने भएको छ । विपक्षी दलहरूले संसद् अवरोध कायमै राख्ने अडान लिएका छन् ।
संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा सत्ता र विपक्षी दलका नेताहरू सहभागी भए पनि सहमति जुट्न सकेन ।
बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवादलगायतका विषयमा रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिने प्रस्ताव राखेका थिए । तर विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरे ।
विपक्षी दलहरूले भने प्रधानमन्त्री बालेन शाह स्वयं संसद्मा उपस्थित भई यी विषयमा स्पष्ट जवाफ दिनुपर्ने अडान राखेका छन् । उनीहरूले प्रधानमन्त्रीको जवाफबिना संसद् सञ्चालन सहज नहुने बताएका छन् ।
यससँगै संसद्को गतिरोध तत्काल अन्त्य हुने सम्भावना टरेको छ र आगामी बैठकहरू पनि अवरुद्ध हुने संकेत देखिएको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्