Tuesday, July 28, 2026
मङ्गलबार, श्रावण १२, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.02 SELL AUD/NPR 107.78 SELL BHD/NPR 409.28 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाएका रास्वपा सांसद बब्लु गुप्तालाई ५०० रुपैयाँ जरिबाना

गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५०० रुपैयाँ जरिबाना गरेको छ।

सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको नेपाल प्रहरीले जनाएको छ।

गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो। भिडियोमा उनले सुरक्षाको न्यूनतम मापदण्डसमेत पालना नगरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्राफिक नियम सबैका लागि समान रूपमा लागू हुनुपर्ने माग गरेका थिए।

घटनापछि सांसद गुप्ताले ट्राफिक नियम उल्लंघन गरेको स्वीकार गर्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। उनले बाल्यकालका सम्झनामा रमाउने क्रममा मजाककै रूपमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको स्वीकार गर्दै त्यसबाट ट्राफिक नियम उल्लंघन भएको महसुस गरेको बताएका छन्।

उनले आफूबाट जानी वा नजानी भएको गल्तीप्रति क्षमा माग्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, अब आफ्नो ऊर्जा देश र जनताको सेवामा केन्द्रित गर्ने बताएका छन्।

यसअघि पनि हेलमेट नलगाई मोटरसाइकल चलाएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह तथा ट्राफिक नियम उल्लंघन गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई समेत ट्राफिक प्रहरीले कारबाही गर्दै ५०० रुपैयाँ जरिबाना गरेको थियो।

यस घटनालाई लिएर सामाजिक सञ्जालमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूले ट्राफिक नियमको पालना गरेर नागरिकका लागि उदाहरणीय व्यवहार प्रस्तुत गर्नुपर्ने धारणा व्यापक रूपमा व्यक्त गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्