Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

रास्वपा केन्द्रीय सदस्यमा श्रममन्त्री रामजी यादव पराजित, सात मन्त्री निर्वाचित

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा पराजित भएका छन्। मन्त्रिपरिषद्का अन्य सात मन्त्री केन्द्रीय सदस्यमा निर्वाचित हुँदा यादव भने पहिलो चरणको निर्वाचनबाट आवश्यक मत ल्याउन असफल भएका हुन्।

यादवले खुला (राष्ट्रिय) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। उक्त समूहमा ६४ पदका लागि २१० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए। पहिलो चरणको निर्वाचनमा खसेको कुल दुई हजार ९५९ मतमध्ये उनले ८६९ मत मात्रै प्राप्त गरे।

बालेन शाह नेतृत्वको सरकारका मन्त्रीमध्ये रास्वपाको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका अन्य सात जना भने विजयी भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता तथा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खुलातर्फ सर्वाधिक दुई हजार ६०७ मत प्राप्त गरेका छन्। कानुनमन्त्री सोविता गौतमले दुई हजार ५९४ मतसहित दोस्रो धेरै मत ल्याएकी छन्। परराष्ट्रमन्त्री शिशिर खनालले दुई हजार ४९५ तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले दुई हजार ९४ मत प्राप्त गरेका छन्। खुला समूहका यी मतमा प्रवासतर्फबाट प्राप्त मतसमेत जोडिने जनाइएको छ।

यस्तै भूगोलतर्फ निर्वाचित सामाजिक सुरक्षामन्त्री सीता बादीले एक हजार ७५१, स्वास्थ्यमन्त्री निशा मेहताले एक हजार ८६१ तथा कृषिमन्त्री गीता चौधरीले ८९० मत प्राप्त गरेका छन्।

रास्वपाको संशोधित विधानअनुसार पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ। पहिलो चरणको निर्वाचनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। बाँकी ५१ जना सभापति रवि लामिछानेले मनोनयन गर्ने व्यवस्था रहेको छ भने सातै प्रदेशका सभापति पदेन सदस्यका रूपमा स्वतः केन्द्रीय समितिमा रहनेछन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्