Thursday, July 30, 2026
बिहीबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.15 SELL AUD/NPR 108.28 SELL BHD/NPR 410.58 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
प्रदेश

पर्सामा प्रतिबन्धित लागूऔषधसहित तीन पक्राउ, पाँच लाख बराबरका अवैध औषधि पनि बरामद

पर्सामा सशस्त्र प्रहरी बल नेपालले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गर्नुका साथै छुट्टै कारबाहीमा करिब पाँच लाख रुपैयाँ बराबरका अवैध औषधि बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा र सीमा सुरक्षा गुल्म वीरगञ्जको संयुक्त टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो।

जाँचका क्रममा ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर लुकाईछिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागूऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार बरामद लागूऔषधमा डाइजापाम इन्जेक्सन २०० एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन २०० एम्पुल तथा बुप्रेनोर्फिन इन्जेक्सन २०० एम्पुल रहेका छन्।

उक्त लागूऔषध, ई–रिक्सा तथा पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच, सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१ स्थित छपकैया सीमा क्षेत्रबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्र्याइएका ठूलो परिमाणका औषधि पनि बरामद गरेको छ।

बीओपी सिर्सियाबाट खटिएको गाडी मोबाइल टोलीलाई देख्नेबित्तिकै सामान ओसारपसार गरिरहेका दुई व्यक्ति सामान छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

फरार तस्करहरूले छाडेर गएको चार कार्टुन भिटामिनलगायत विभिन्न औषधि, करिब पाँच लाख रुपैयाँ बराबरको रहेको प्रहरीको अनुमान छ।

बरामद गरिएका अवैध औषधिहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्