Wednesday, July 29, 2026
बुधबार, श्रावण १४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 42.00 SELL AUD/NPR 108.37 SELL BHD/NPR 409.15 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सीमा विवादमा उठेका विषयमा सरकार गम्भीर रहेको सभामुख अर्यालको विश्वास, सदन सञ्चालन गर्न विपक्षीलाई आग्रह

सीमा विवादसँग सम्बन्धित विषयमा विपक्षी दलहरूले उठाएका प्रश्नप्रति सरकार गम्भीर रहेको सभामुख डोलप्रसाद अर्यालले विश्वास व्यक्त गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विपक्षी दलहरूलाई संवादमार्फत समस्या समाधान गर्दै संसद्को कामकारबाही अघि बढाउन आग्रह गरेका हुन् ।

सभामुख अर्यालका अनुसार पछिल्ला केही दिनदेखि सदन अवरुद्ध हुँदै आएको छ र उठाइएका विषयमा सरकार पक्ष र विपक्षबीच संवाद भइरहेको जानकारी पनि उनले प्राप्त गरेका छन् ।

१७ जेठमा प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै सदन अवरुद्ध गर्दै आएका छन्, जसका कारण संसद् कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

यसै सन्दर्भमा सभामुख अर्यालले विपक्षी दलहरूले उठाएका विषयलाई सरकारले गम्भीर रूपमा लिएको विश्वास व्यक्त गर्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे ।

“विगत केही दिनदेखि सदन स्थगित भइरहेको छ । विषयवस्तु उठिरहेको विषयमा मलाई पनि ध्यानाकर्षण भएको छ । सत्तापक्ष र विपक्षबीच संवाद भइरहेको जानकारी छ,” सभामुख अर्यालले बैठकमा भने ।

उनले विपक्षीले उठाएका विषयलाई सरकार गम्भीर रूपमा लिन्छ भन्ने विश्वास व्यक्त गर्दै संसद्को नियमित कार्यसूचीमा फर्कनुपर्ने आवश्यकता औँल्याए ।

आजको बैठकमा नेपाल राष्ट्र बैंक ऐन तेस्रो संशोधन विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्तुत गर्नेछन् ।

त्यसअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयनसम्बन्धी जानकारी सदनमा गराउनेछन् ।

त्यसपछि आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु हुनेछ । अर्थमन्त्री वाग्लेले वक्तव्यसहित छलफल प्रारम्भ गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्रीले दिनेछन् । त्यसपछि विनियोजन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आजै अर्थमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक पनि प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यक्रम छ ।

 

 

 

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्