परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। हालै भारत भ्रमण सम्पन्न गरेर फर्किएका खनालको चीन यात्रा तय भएको हो।
स्रोतका अनुसार उनी जुन १४ (जेठ ३१) मा चीन प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा १५ र १६ तारिखमा विभिन्न औपचारिक भेटवार्ता हुने कार्यक्रम रहेको छ। त्यसपछि उनी १७ तारिखमा नेपाल फर्किनेछन्।
भ्रमणका क्रममा मन्त्री खनालले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै नेपाली डायस्पोरासँग पनि अन्तर्क्रिया गर्ने तयारी छ।
यद्यपि भ्रमणको मिति र औपचारिक एजेण्डा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छैन। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारत भ्रमणको व्यस्तताका कारण चीन भ्रमणबारे विस्तृत छलफल गर्न बाँकी छ। “चिनियाँ पक्षसँग निरन्तर सम्पर्कमा छौँ, औपचारिक विवरण आएपछि जानकारी गराइनेछ,” उनले बताए।
मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारत भ्रमणमा रहेका थिए। सो क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकर, साथै सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका थिए।
भारत–चीनबीच लिपुलेक क्षेत्रमार्फत व्यापारिक मार्ग सञ्चालनबारे नेपालले उठाउँदै आएको आपत्ति र अडानका विषयमा पनि मन्त्री खनालले भारतमा स्पष्ट धारणा राखेका थिए। सो विषय चीन भ्रमणका क्रममा पनि उठ्न सक्ने अनुमान गरिएको छ।
साथै, दुई देशबीचको समग्र द्विपक्षीय सम्बन्ध, विकास सहकार्य र अन्य रणनीतिक विषयमा समेत छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्