विपक्षी दलहरूको निरन्तर अवरोधपछि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी जेठ २६ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले अवरोध गरेपछि बैठक अघि बढ्न नसकेको हो ।
विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा “नेपालले पनि भारतको सिमा मिचेको छ” भन्ने अभिव्यक्ति दिएको भन्दै उक्त भनाइ फिर्ता लिन दबाब दिँदै विरोध जनाएका थिए ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक–पटक सांसदहरूलाई आ–आफ्नो आसनमा बस्न आग्रह गरे पनि उनीहरूले नमानेपछि बैठक स्थगित गर्नुपरेको थियो । बैठक अब जेठ २६ गते दिउँसो सवा १ बजेसम्मका लागि सारिएको छ ।
यसअघि सोमबार र मंगलबारका बैठकहरू पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएका थिए । लगातारको अवरोधले राष्ट्रिय सभाको नियमित कार्यसम्पादन प्रभावित बनेको छ ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्