Tuesday, September 15, 2026
मङ्गलबार, भाद्र ३०, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.34 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

मन्त्री यादवको निर्देशनपछि २ सातामै उठ्यो ४२ करोडभन्दा बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको कडा निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको भाडा बक्यौता संकलनमा उल्लेखनीय सफलता प्राप्त भएको छ। मन्त्री यादवको निर्देशनपछि मात्र दुई साताभित्र ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम असुल भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।

लामो समयदेखि भाडा तिर्न आनाकानी गर्दै आएका उद्योग तथा कार्यालयहरूबाट तत्काल बक्यौता उठाउन मन्त्री यादवले लिमिटेडलाई निर्देशन दिनुभएको थियो। त्यसलगत्तै लिमिटेडले बक्यौता रहेका उद्योगहरूलाई सार्वजनिक सूचना जारी गर्दै रकम बुझाउन आग्रह गरेको थियो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि केही उद्योगहरूले भाडा तिर्न बाँकी राखेका थिए। केही दिनअघि करिब ६ सय ३५ उद्योग तथा कार्यालयलाई सार्वजनिक सूचना जारी गरिएकामा अधिकांशले धमाधम बक्यौता चुक्ता गरेका छन्।

भाडा नतिर्ने उद्योगहरूमाथि कडा कारबाही पनि अघि बढाइएको छ। मन्त्री यादवले तोकिएको समयभित्र बक्यौता नतिर्ने उद्योगहरूको विद्युत लाइन काट्न निर्देशन दिएपछि सुरुमा करिब २ सयभन्दा बढी उद्योगको लाइन काटिएको थियो। ती उद्योगहरूले बक्यौता बुझाएपछि पुनः विद्युत सेवा जोडिएको लिमिटेडले जनाएको छ।

हालसम्म पनि भाडा नतिर्ने ४५ वटा उद्योगको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्री यादवले ती उद्योगहरूले सम्पूर्ण बक्यौता चुक्ता नगरेसम्म विद्युत सेवा पुनः सञ्चालन नगर्न स्पष्ट निर्देशन दिनुभएको छ।

बक्यौता धेरै रहेका उद्योगमध्ये **कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा.लि.**को करिब ३ करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी **कन्टिनेन्टल सर्भिसेज प्रा.लि.**को करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको लिमिटेडले जनाएको छ। यी दुवै कम्पनीको विद्युत लाइन काट्ने प्रक्रिया पनि अघि बढाइएको छ।

महाप्रबन्धक ओलीले भाडा असुलीमा विभिन्न दबाब र उद्योगहरूको आनाकानीका बाबजुद मन्त्री गौरिकुमारी यादवको स्पष्ट निर्देशनका कारण छोटो समयमै ठूलो परिमाणमा बक्यौता उठाउन सफल भएको बताउनुभयो। उहाँले बाँकी बक्यौता रकम पनि कानुनी प्रक्रिया र आवश्यक कारबाहीमार्फत असुल गरिने जानकारी दिनुभयो।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्