म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने लगभग पक्का भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी भइरहेको छ ।
यद्यपि पुनले भने आफूलाई मन्त्री बनाउने विषयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको बताएका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने, “मन्त्री बनाउने विषयमा मलाई कुनै जानकारी छैन । कसैले फोन पनि गरेको छैन ।”
पुनले लामो समयदेखि विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा राज्यको लगानी बढाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका लागि पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको घोषणा गरेका थिए ।
स्रोतका अनुसार उक्त क्षेत्रका लागि निश्चित अनुपातमा बजेट सुनिश्चित गर्न पुनले निरन्तर दबाब दिँदै आएका थिए । सरकारले उनको मागअनुसार बजेट व्यवस्था गरेपछि मन्त्रीको जिम्मेवारी दिने तयारी पनि अघि बढाइएको बताइएको छ ।
यसअघि अन्तरिम सरकारमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन गत फागुन २१ गते सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए । निर्वाचनमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन रहेको थियो । रास्वपाको समर्थनमा निर्वाचित भए पनि संसद्मा उनको हैसियत स्वतन्त्र सांसदकै रूपमा रहेको छ ।
विज्ञान र नवप्रवर्तन क्षेत्रमा सक्रिय पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र ले देशभित्र अनुसन्धान, आविष्कार र प्रविधि विकासका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । मन्त्री नियुक्ति भएमा विज्ञान तथा नवप्रवर्तनको क्षेत्रमा उनको दीर्घकालीन एजेन्डाले सरकारी तहमा थप गति पाउने अपेक्षा गरिएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्