Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

खाद्यजन्य रोग विश्वकै लागि गम्भीर जनस्वास्थ्य चुनौती : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू विश्वकै लागि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेको बताएकी छन्। उनले खाद्य स्वच्छता सुनिश्चित गर्न नेपाल सरकारले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेकी छन्।

विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार जारी शुभकामना सन्देशमा मन्त्री मेहताले यस वर्ष ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने मूल नारासहित दिवस मनाइँदै गरेको जानकारी दिँदै सुरक्षित खाद्य उपभोगको महत्वमाथि जोड दिएकी हुन्।

उनले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्रतिवेदन उद्धृत गर्दै प्रत्येक वर्ष करिब ६० करोड मानिस दूषित खाद्य पदार्थका कारण बिरामी पर्ने र ४ लाख २० हजारभन्दा बढीले ज्यान गुमाउने गरेको तथ्य प्रस्तुत गरिन्। यस्तो अवस्था खाद्य स्वच्छता र गुणस्तरमा थप ध्यान दिनुपर्ने संकेत भएको उनको भनाइ छ।

मन्त्री मेहताले उपभोग गरिने खाद्य पदार्थ भौतिक, रासायनिक तथा जैविक जोखिमबाट मुक्त हुनुपर्ने बताउँदै स्वच्छ खानपानमार्फत जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्। उनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन कार्यान्वयनसँगै खाद्य परीक्षण प्रयोगशालाको क्षमता अभिवृद्धि, जोखिममा आधारित बजार अनुगमन तथा नीतिगत सुधारका कार्यक्रमलाई तीव्रता दिइएको जानकारी दिइन्।

खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण शृङ्खलामा स्वच्छता कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले असल कृषि अभ्यास, असल उत्पादन अभ्यास तथा उचित भण्डारण प्रणाली अपनाउन आग्रह गरिन्। यस्ता उपायले गुणस्तरीय खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै खाद्यजन्य रोगबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

दिवसको अवसरमा मन्त्री मेहताले खाद्य शृङ्खलासँग आबद्ध उत्पादक, व्यवसायी, उपभोक्ता तथा अन्य सरोकारवालालाई स्वच्छ खानपानको महत्व आत्मसात् गर्दै आ-आफ्नो जिम्मेवारीप्रति थप सचेत र उत्तरदायी बन्न आग्रह गर्दै शुभकामना व्यक्त गरेकी छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्