बाराको जीतपुर बजारमा शनिबार राति फिल्मी शैलीमा चोरी भएको छ। चोरहरूको समूहले लाखौं रुपैयाँ बराबरको नगद तथा सामान चोरी गर्नुका साथै चोरीकै क्रममा पसलभित्र चटपटे र बिर्यानी खाएर फरार भएको घटनाले स्थानीय व्यापारीलाई स्तब्ध बनाएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित विशाल मार्केट र सिटी मार्केटका केही पसलमा अज्ञात समूहले शनिबार मध्यराति चोरी गरेको हो। चोरहरूले मुख्य ढोका वा ताला नफोडी पसलमाथिको जस्तापाता उप्काएर भित्र प्रवेश गरेका थिए।
व्यापारीहरू आइतबार बिहान पसल खोल्न पुग्दा चोरी भएको थाहा पाएपछि घटनास्थलमा भीड लागेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार चोरहरूले हतार नगरी योजनाबद्ध रूपमा चोरी गरेका थिए।
चोरहरूको आत्मविश्वास यति धेरै देखिएको थियो कि उनीहरूले चोरीकै बीचमा एउटा चटपटे पसलमा आफैं चटपटे बनाएर खाएका थिए। त्यसपछि नजिकै रहेको बिर्यानी हाउसमा प्रवेश गरी बिर्यानी समेत खाएका थिए। उनीहरूले त्यहाँ रहेका महँगा इनर्जी ड्रिंक्स, नगद तथा फेन्सी पसलबाट रेडिमेड लुगासमेत चोरी गरेर लगेका छन्।
घटनालाई थप रहस्यमय बनाउने अर्को पक्ष भनेको सीसीटीभी क्यामरा हो। प्रहरीसम्म आफ्नो अनुहार नपुगोस् भन्ने उद्देश्यले चोरहरूले अधिकांश पसलमा जडान गरिएका सीसीटीभी क्यामरा नै भित्ताबाट उखेलेर साथमा लगेका छन्। यसका कारण घटनाको दृश्य संकलन गर्न प्रहरीलाई चुनौती थपिएको छ।
हालसम्म चोरी भएको नगद तथा सामानको यकिन विवरण सार्वजनिक भएको छैन। व्यापारीहरूले क्षतिको विवरण संकलन गरिरहेका छन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय जीतपुरको टोली आइतबार बिहानै घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनामा संलग्न समूहको पहिचान तथा पक्राउका लागि विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्