Friday, April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 40.45 SELL AUD/NPR 104.55 SELL BHD/NPR 393.80 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

इनिसा मृत्यु प्रकरण : बुवा दुबईमा अलपत्र, आमा सुर्खेतमा विक्षिप्त

२७ फागुन, । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ मनाइरहँदा प्रदेश अस्पतालको शवगृहमा एक किशोरीको शव पोस्टमार्टमको प्रतीक्षामा थियो। त्यो शव थियो गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको।

इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेकी थिइन्। प्रहरीले उनलाई तत्काल प्रदेश अस्पताल कालागाउँ पुर्‍याएको थियो। तर डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको आरोप लगाउँदै २५ फागुनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनासम्बन्धी अनुसन्धान जारी छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारपछि मृत्यु भएको आशंका देखाएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका नाबालिग रहेका प्रहरीले जनाएको छ।

प्रहरीले २३ फागुन दिउँसो नै एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि २४ फागुनमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको हो।

२३ फागुनको बिहान के भयो ?

इनिसा फागुन २३ गते बिहान करिब ६ बजे ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। उनकी आमा तिला विकले ‘आज शनिबार भएकाले ट्युसन नजाऊ, गुर्भाकोट घर जानुपर्छ’ भन्दै रोक्न खोजेकी थिइन्। तर इनिसाले दुई घण्टामै फर्किने भन्दै घरबाट निस्किएकी थिइन्।

वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिसा बिहान ८ बजेसम्म घर फर्किने बताएकी थिइन्। तर ९ बजेसम्म पनि घर नआएपछि आमाले फोन गर्दा फोन बन्द थियो।

“स्कुलमा पनि फोन गरेँ तर उठेन। कम्प्युटर पढाउने माधव सरको फोन पनि बन्द थियो,” इनिसाकी आमा तिला विकले भनिन्।

केही समयपछि अपरिचित नम्बरबाट फोन आयो। फोन गर्ने व्यक्तिले “तपाईंकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा छिन्, छिटो लिन आउनुस्” भनेपछि तिला हतारिँदै सानो छोरालाई लिएर घटनास्थल पुगेकी थिइन्।

उनका अनुसार घटनास्थलमा इनिसाको शरीर रक्ताम्मे अवस्थामा थियो। कपाल लुछिएको, घाँस मडारिएको र कपडा अव्यवस्थित अवस्थामा थिए। एकातिर जुत्ता र अर्कोतिर मोजा भेटिएको उनले बताइन्।

“कालो ज्याकेटले छोपिएको अवस्थामा छोरीलाई देखेँ। छातीभरि नीलडाम थिए,” तिलाले भक्कानिँदै भनिन्, “त्यो अवस्था देखेपछि म बेहोस भएछु।”

दुबई एयरपोर्टमा अलपत्र बुवा

इनिसाका बुवा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश लिएपछि रोजगारीका लागि दुबईमा कार्यरत छन्। करिब एक महिना अघि मात्रै घर बिदा सकेर उनी पुनः दुबई फर्किएका थिए।

छोराछोरीको पढाइका लागि आमा तिला विगत पाँच वर्षदेखि वीरेन्द्रनगरमा बस्दै आएकी थिइन्। इनिसा पढाइमा राम्रो थिइन् र विज्ञान विषय लिएर अध्ययन गरिरहेकी थिइन्। उनको सपना डाक्टर बन्ने थियो।

छोरीको मृत्युको खबर पाएपछि बुवा इन्द्रबहादुर नेपाल फर्किने प्रयासमा छन्। तर मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण दुबई विमानस्थल प्रभावित भएकाले उनको उडान अनिश्चित बनेको बताइएको छ।

छोरी गुमाएपछि आमा तिला विकको मानसिक अवस्था पनि कमजोर बन्दै गएको आफन्तले बताएका छन्।

अनुसन्धान जारी

मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै चार जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी उजुरी दिएका छन्।

प्रहरीले भने घटनाको सबै कोणबाट अनुसन्धान भइरहेको जनाएको छ।

डीएसपी मोहनजंग बुढथापाले भने, “पक्राउ परेकाहरू सबै नाबालिग छन्। पोस्टमार्टम रिपोर्ट अझै आएको छैन। रिपोर्ट आएपछि घटनाको स्पष्ट निष्कर्षमा पुग्न सहज हुनेछ।”

घटनाको थप अनुसन्धानका लागि भेरी अस्पताल नेपालगन्जबाट तीन जना विशेषज्ञको टोली सुर्खेत बोलाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका १६ वर्षीय किशोरले इनिसासँग शारीरिक सम्पर्क भएपछि अत्यधिक रक्तश्राव भएको र उनी अचेत भएपछि अरु साथीहरूलाई बोलाएर सहयोग मागेको बयान दिएका छन्। तर मृतकका आफन्तले भने सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।

घटनालाई गम्भीर रूपमा लिँदै विभिन्न मानवअधिकार तथा नागरिक समाजका संस्थाहरूले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्
Guest User Mar 16, 2026

Hello from DreamProxies.com Amazing proxies offer: top quality, ultra speed and unlimited private proxies now even lower price! 50% Discount - for all private proxies: http://tiny.cc/dreamproxies-offer Browse top features and advantages: Fully Anonymous, Premium Quality, Blazing Speed, Unlimited Usage, Reliable Servers, Best Prices, Bonus Discounts and many more 50% Cheaper for all proxy packages - at DreamProxies.com