पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ तारेभिरमा यात्रु बोकेको ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
मंगलबार बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ३४६० नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा काठमाडौं महानगरपालिका–१० कपनका ३३ वर्षीय बद्री मगर, काठमाडौं स्वयम्भुका २५ वर्षीय नेत्रलाल नेवा, भारतका ६५ वर्षीय जगदीश बिएल, चितवन कालिका नगरपालिका–३ पदमपुरकी ६५ वर्षीया यनु मगर, रुपन्देही बुटवल उपमहानगरपालिका–४ का ४० वर्षीय रूप गुरुङ, भ्यानका सहचालक ३५ वर्षीय गोविन्द थापा, चालक ४४ वर्षीय कृष्ण थापा, गुल्मी इस्मा गाउँपालिका–६ का २१ वर्षीय किरण मुखिया, भारतका ६१ वर्षीय नन्जुण्डे गोडा तथा रुपन्देही बुटवल–१७ का २८ वर्षीय प्रकाश भट्टराई घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये चार जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको छ।
दुर्घटनापछि दुवै सवारीसाधन घटनास्थलमै रहेको र पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन भने सहज रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–११ का ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्