हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला संसदभित्रै पर्चा प्रदर्शन गर्दै सरकारको विरोध गरेको छ ।
सोमबार संसद बैठक सुरु हुनासाथ पार्टीका सांसदहरू सभामुखको आसन अगाडि उभिएर विभिन्न नारा लेखिएका पर्चासहित प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा सांसदहरूको छातीमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको पर्चा टाँसिएको थियो ।
त्यसैगरी ‘प्रश्नदेखि भाग्न पाइँदैन’, ‘जनमतलाई सम्मान गर’, ‘संसद छलेर अध्यादेश ल्याउन बन्द गर’ र ‘संसदीय मर्यादा पालन गर’ जस्ता नारा पनि प्रदर्शन गरिएका थिए ।
श्रम संस्कृति पार्टीले प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन्नुपर्ने, संसदलाई बेवास्ता गरेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति रोक्नुपर्ने माग राख्दै विरोध जनाएको जनाएको हो ।
संसदभित्र भएको उक्त प्रदर्शनपछि सभामुखले श्रम संस्कृति पार्टीका सांसदहरूलाई मर्यादित र संयमित रूपमा प्रस्तुत हुन आग्रह गरेका थिए । केही समयको विरोधपछि बैठक पुनः नियमित रूपमा सञ्चालन गरिएको थियो ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्