Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

वैदेशिक रोजगारीको प्रलोभनमा करोडौँ ठगी गर्ने ५ जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै बेरोजगार युवायुवतीहरूबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब र राम्रो रोजगारीको प्रलोभन देखाएर रकम असुलेपछि सम्पर्कविहीन हुने गरेको आरोपमा उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँका ४१ वर्षीय रामदास महर्जन, काठमाडौँकै २९ वर्षीय सरिब गिरी, धादिङकी ३४ वर्षीया सन्तोषी लामा, सिन्धुपाल्चोकका ४२ वर्षीय वाङ्दी लामा र रामेछापका ३८ वर्षीय ललितबहादुर तामाङ रहेका छन्।

प्रहरीका अनुसार रामदास महर्जनले संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै सात जना पीडितबाट कुल ४५ लाख रुपैयाँ ठगी गरेका थिए। सरिब गिरीले क्यानडा पठाइदिने भन्दै एक जनाबाट २० लाख रुपैयाँ लिएको आरोप छ।

यस्तै, सन्तोषी लामाले स्पेन पठाइदिने भन्दै एक जना पीडितबाट १५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको, ललितबहादुर तामाङले कोसोभो पठाइदिने आश्वासन दिएर २ लाख ५० हजार रुपैयाँ ठगी गरेको तथा वाङ्दी लामाले अजरबैजान पठाइदिने भन्दै ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले वैदेशिक रोजगारीमा उच्च आम्दानी हुने प्रलोभन देखाई पीडितहरूबाट रकम उठाउने र त्यसपछि सम्पर्कविहीन हुने गरेको खुलेको प्रहरीले जनाएको छ। पीडितहरूले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रहरीले वैदेशिक रोजगारीमा जानुअघि सरकारबाट स्वीकृति प्राप्त म्यानपावर कम्पनीमार्फत मात्रै प्रक्रिया अघि बढाउन तथा कुनै पनि व्यक्तिलाई व्यक्तिगत रूपमा रकम नदिन सर्वसाधारणलाई आग्रह गरेको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्