Monday, September 14, 2026
सोमबार, भाद्र २९, २०८३
ताजा समाचार
बजार लाइभ
NEPSE 2450.50 +1.25% AED/NPR 41.24 SELL AUD/NPR 109.10 SELL BHD/NPR 401.78 SELL Diamond (Approx.) रु 88000.00 Fine Gold (Hallmark) रु 290300.00 CHCL 520.00 +1.56% GBIME 340.00 +0.44% NABIL 950.00 +0.55% NICA 780.00 +1.30% NTC 1240.00 -0.17%
समाचार

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त, प्राविधिक शिक्षामा बहुआयामिक विशेषज्ञता थपिने अपेक्षा

शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका चार जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ।

मन्त्रालयले आईटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ तथा नर्सिङ एवं जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानालाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो।

सिटिइभिटिको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो। काउन्सिलले पाठ्यक्रम विकास, नयाँ शैक्षिक कार्यक्रमको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्याङ्कन प्रणाली तथा प्राविधिक एवं व्यावसायिक शिक्षासम्बन्धी दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

नवनियुक्त सदस्यमध्ये डा. अमृता शर्मा सूचना प्रविधि, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता तथा नीतिगत विज्ञका रूपमा परिचित हुनुहुन्छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रोजगारीयोग्यता विषयमा विद्यावारिधि प्राप्त उहाँले सूचना प्रविधि उद्योगको विकास, डिजिटल सीप, सेवा निर्यात तथा नीतिगत सुधारका विषयमा विभिन्न अध्ययन तथा अनुसन्धान गर्नुभएको छ।

उहाँको नेतृत्वमा एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) ले सञ्चालन गरेको ‘अनलिसिङ आईटी : एड्भान्सिङ नेपाल्स डिजिटल इकोनोमी’ अध्ययनले नेपाललाई सूचना प्रविधि सेवा निर्यातको प्रमुख गन्तव्यका रूपमा विकास गर्न आवश्यक नीतिगत सुधार, दक्ष जनशक्ति विकास तथा निजी क्षेत्रसँगको सहकार्यका उपायहरू प्रस्तुत गरेको थियो।

त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डे निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रका अनुभवी उद्यमी हुनुहुन्छ। इन्जिनियरिङ पृष्ठभूमिका उहाँले तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसाय, पूर्वाधार विकास तथा निजी क्षेत्रको नेतृत्व गर्दै आउनुभएको छ। मन्त्रालयले उहाँको अनुभवले प्राविधिक शिक्षालाई उद्योगको आवश्यकता, उत्पादन प्रणाली तथा श्रम बजारसँग अझ प्रभावकारी रूपमा जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

कर्खानाका सह–संस्थापक डा. दिपेश्वर मान श्रेष्ठले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट स्टेम शिक्षामा विद्यावारिधि हासिल गर्नुभएको छ। उहाँले नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित व्यावहारिक सिकाइ, शिक्षकको व्यावसायिक क्षमता विकास, ‘मेकिङ’ संस्कृतिको प्रवर्द्धन तथा नवप्रवर्तनमुखी शिक्षाको विस्तारमा योगदान दिँदै आउनुभएको छ। उहाँको अनुभवले सिटिइभिटिको प्राविधिक शिक्षालाई सिर्जनशीलता, अनुसन्धान र उद्यमशीलतासँग जोड्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर उपाधि प्राप्त गर्नुका साथै नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा समाज विषयमा फेलोसिप पूरा गर्नुभएको छ। हाल नेपाल रेडक्रस सोसाइटीमा क्लिनिकल कोअर्डिनेटरका रूपमा कार्यरत उहाँले सेभ द चिल्ड्रेन, नर्भिक इन्टरनेशनल अस्पताललगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा जनस्वास्थ्य, नर्सिङ सेवा, आपत्कालीन प्रतिकार्य तथा वास (WASH) कार्यक्रमको नेतृत्वदायी जिम्मेवारी सम्हालिसक्नुभएको छ।

मन्त्रालयका अनुसार सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा स्वास्थ्य क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिताले सिटिइभिटिको एकेडेमिक काउन्सिलमा बहुआयामिक विशेषज्ञता थपिनेछ। यसले प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधुनिक प्रविधि, उद्योगको आवश्यकता, नवप्रवर्तन र श्रम बजारसँग अझ प्रभावकारी रूपमा जोड्दै गुणस्तरीय तथा रोजगारमुखी शिक्षा प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

टिप्पणीहरू

टिप्पणी लेख्नुहोस्