रक्सौल–वीरगञ्ज सीमाबाट बिना वैध भारतीय भिसा भारत प्रवेश गर्न खोजिरहेका एक चिनियाँ नागरिकलाई सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ।
एसएसबीको ४७औँ वाहिनीले शुक्रबार दिउँसो नियमित जाँचका क्रममा उनलाई मैत्री पुल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने व्यक्ति ५७ वर्षीय याओ शुझाङ रहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ।
उनीसँग चिनियाँ राहदानी नम्बर EJ0138408 फेला परे पनि भारत प्रवेशका लागि आवश्यक वैध भिसा दस्तावेज नभेटिएको बताइएको छ। प्रारम्भिक सोधपुछमा उनले आफू खेलौना व्यवसायसँग सम्बन्धित व्यापारी भएको बताएका छन्।
सुरक्षा निकायका अनुसार उनीसँगबाट लडाकु विमान, स्पाइडर म्यान मुखौटालगायत शंकास्पद शैलीका खेलौनाको खेप समेत बरामद भएको छ।
जानकारीअनुसार याओ ११ मे २०२६ मा काठमाडौं हुँदै चितवन पुगेका थिए। त्यसपछि वीरगञ्ज नाका प्रयोग गरेर भारत प्रवेश गर्ने प्रयास गरेका थिए। एसएसबीका अनुसार ड्युटी परिवर्तन भइरहेको समयमा उनी मैत्री पुल पार गरेर रक्सौलतर्फ जाँदै गर्दा टाँगाबाट नियन्त्रणमा लिइएका हुन्।
उनी केवल चिनियाँ भाषामा मात्र बोल्ने भएकाले सोधपुछमा कठिनाइ भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। अहिले भारतीय सुरक्षा निकायले उनको भारत प्रवेशको उद्देश्य, सम्भावित सम्पर्क र गतिविधिबारे अनुसन्धान गरिरहेको छ।
एसएसबी अधिकारी मनीष आनन्दले अवैध रूपमा बिहार प्रवेश गर्न खोजिरहेका एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
भारत–नेपाल खुला सीमामा विदेशी नागरिकको संदिग्ध गतिविधि बढ्न थालेपछि सीमाक्षेत्रमा सुरक्षा निगरानी थप कडा बनाइएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्