पर्साको वीरगन्जमा आँप बेच्ने बहानामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर (खैरो हिरोइन) को अवैध कारोबार गरिरहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, बेतिया थाना गोपालपुर ग्राम पञ्चायत–२ घोघा घर भई हाल वीरगन्ज महानगरपालिका–८ मा डेरा गरी बस्ने ३० वर्षीय गुड्डु आलम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले आलमलाई वीरगन्ज महानगरपालिका–१ स्थित भुतबंगला नजिकैबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार साइकलमा आँप राखेर बिक्री गरिरहेको आवरणमा आलमले लागूऔषधसमेत बिक्री गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले निगरानी गरी खानतलासी गरेको थियो।
तलासीका क्रममा साइकलको पछाडिको चक्का नजिक झुण्ड्याइएको प्लास्टिकको बोराभित्र कालो प्लास्टिकले बेरिएको अवस्थामा लुकाइराखिएको २७ ग्राम २९० मिलिग्राम गिलो खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद भएको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
प्रहरीले बरामद गरिएको लागूऔषध, आँपसहितको साइकल र पक्राउ परेका आलमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्