मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
बुधबार सम्पन्न महानगरको २०औँ नगरसभामा शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ, कृषि, पर्यटन, उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधिलाई प्राथमिकतामा राख्दै उक्त बजेट प्रस्तुत गरिएको हो।
महानगरका कार्यवाहक मेयर इम्तियाज आलमका तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरणसहित बजेट प्रस्तुत गरेका हुन्।
महानगरले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढी हो। चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ५४.३ प्रतिशत हो। यस्तै, पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४.६ प्रतिशत विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ।
महानगरले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि विभिन्न स्रोतबाट राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेशन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ जुटाइने महानगरले जनाएको छ।
महानगरले आगामी वर्ष शिक्षा, स्वास्थ्य, सरसफाइ तथा पूर्वाधार विकासका कार्यक्रमलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गर्ने जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्