काठमाडौँ, वैशाख १९ — सरकारले बागमती र त्यसका सहायक नदी किनारका अत्यन्तै जोखिमपूर्ण बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ। यसैअन्तर्गत शुक्रबार बल्खु र वंशीघाट क्षेत्रमा संरचना हटाउने विशेष कार्य अघि बढाइएको हो।
सम्बन्धित निकायहरूको समन्वयमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अभियान सञ्चालन गरेको हो। आज कुल ६८६ संरचना हटाउने लक्ष्य राखिएको छ, जसअनुसार बल्खुका ४८६ टहरा र वंशीघाटका २०० संरचनामा डोजर प्रयोग गरी खाली गराउने काम सुरु गरिएको छ।
बर्खायाममा आउने बाढी तथा डुबानबाट हुनसक्ने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सरकारले यो अभियानलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। आगामी दिनमा शंखमूललगायत माथिल्लो तटीय क्षेत्रमा पनि यस्ता संरचना हटाउने काम निरन्तर अघि बढाइने बताइएको छ।
सरकारले सुकुम्बासीको हकमा भने पहिचान र सुरक्षित व्यवस्थापनको स्पष्ट योजना बनेपछि मात्र प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। स्थानीय तहलाई सुरक्षित आवास, स्वास्थ्य र पोषणको व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
यसैबीच, गृह मन्त्रालयले सार्वजनिक जग्गा खाली गर्ने क्रममा पूर्वसूचना र स्थानीय तहको योजना अनिवार्य रहेको स्पष्ट पार्दै विना तयारी कुनै पनि कदम नचालिने जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्