जेन–जी आन्दोलनको नाममा घुसपैठ गरी राजनीतिक नेतृत्वका निजी निवास तथा सार्वजनिक सेवा संस्थाहरूमा आगजनी र तोडफोड गरेको आरोपमा पर्सा प्रहरीले वीरगन्जका महमद अयुब हुसेनलाई पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका–३ निवासी फजल करिमका छोरा तथा ‘अब्बु’ भनेर चिनिने हुसेनलाई प्रहरीले आज पक्राउ गरेको हो। उनीविरुद्ध गत भदौ २४ गते भएको घटनामा संलग्न रहेको आरोप छ।
प्रहरीका अनुसार जेन–जी आन्दोलनको नाममा भएको प्रदर्शनका क्रममा राजनीतिक नेतृत्वका निजी निवास तथा विभिन्न सार्वजनिक सेवा संस्थाहरूमा आगजनी र क्षति पुर्याएको घटनामा संलग्न रहेको भन्दै अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनलाई आज पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोप लागेका नेकपा एमालेका नगर सचिव लियाकत अलीसहित अन्य व्यक्तिहरू भने अझै फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू
टिप्पणी लेख्नुहोस्