११ भदौ, रौतहट ।
रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपित लक्ष्मण पासवान शरीरमा आगलागी भएर गम्भीर घाइते अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार पासवानलाई माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा आज बिहान फेला पारिएको हो। उनलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिएका छन्।
गत शनिबार गौर बजार जाने भन्दै डेराबाट निस्किएकी रुबी साह मृत अवस्थामा भेटिएकी थिइन्। उनको शव बन्द सुटकेसभित्र प्याक गरिएको अवस्थामा बरामद गरिएको थियो।

एसपी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। बिहान करिब साढे ६ बजे आत्मदाह गर्ने प्रयास गरिरहेको भन्ने सूचना पाएपछि पुगेको प्रहरीले उनलाई शरीर जलेर घाइते अवस्थामा फेला पारेको हो।
हाल उनलाई गम्भीर अवस्थामा उपचारका लागि गरुडास्थित एक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।