३ भदौ, काठमाडौं ।
अमेरिकाले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ।
अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकी कानुन उल्लंघन गर्ने तथा तोकिएको समयभन्दा बढी बस्ने कारण ती भिसा रद्द गरिएको हो। मन्त्रालयका अनुसार, भिसा रद्द गरिएका अधिकांश विद्यार्थीहरू मदिरा सेवन गरेर गाडी चलाउने, चोरी गर्ने जस्ता अपराध र आतंकवादलाई समर्थन गर्ने गतिविधिसँग जोडिएका थिए।
यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको परिणाम भएको बताइन्छ। सो नीतिअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समेत कडाइ गरिएको छ। तर विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन’ भन्ने आरोपको दायराबारे भने स्पष्ट खुलासा गरेको छैन।
यस्तै, ट्रम्प प्रशासनले प्यालेस्टाइनी समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीलाई यहुदी–विरोधी गतिविधिमा संलग्न भएको भन्दै कारबाही गरेको छ।
विदेश मन्त्रालयका अनुसार, रद्द गरिएका भिसामध्ये करिब ४ हजार कानुन उल्लंघनको आरोपमा रद्द गरिएको हो भने २०० देखि ३०० भिसा ‘आईएनए ३(बी)’ अन्तर्गत आतंकवादसँग सम्बन्धित मुद्दामा रद्द गरिएको जनाइएको छ।