पत्रकारमाथि आक्रमण गर्ने वकिल पक्राउ नपरेपछि धनुषामा धर्ना

Spread the love

गुठी संस्थानसँग सम्झौता गरेर लिइएको जग्गालाई लिएर उत्पन्न विवादका क्रममा पत्रकारमाथि भएको आक्रमणका दोषी अझैसम्म पक्राउ नपरेपछि पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म पत्रकारहरुले शान्तिपूर्ण धर्ना गर्दै दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेका हुन्।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशले केन्द्रीय गुठी संस्थानसँग विधिसम्मत रुपमा सम्झौता गरी ४ कठ्ठा जग्गा लिजमा लिएको थियो। तर, सो जग्गा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै नेपाल बार एसोसिएशन जनकपुरका केही वकिलले विवाद खडा गरेका थिए। सम्झौता अनुसार निर्माण कार्य अघि बढाइरहेका बेला साउन २७ गते वकिलहरुले पत्रकारमाथि आक्रमण गरेका थिए।

सो घटनामा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो, पत्रकार दिवाकर राय, अनिलकुमार निराला र विनिता यादव घाइते भएका थिए। आक्रमणमा संलग्न पाँच वकिलविरुद्ध साउन २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिइए पनि हालसम्म उनीहरू पक्राउ परेका छैनन्।

प्रहरी प्रशासनले आक्रमणकारीलाई संरक्षण गरिरहेको आरोप लगाउँदै महासंघ मधेश प्रदेशका अध्यक्ष बन्जाराले भने, “देशव्यापी आन्दोलन नहोस् भनेर संयमता अपनाइरहेका छौं। तर, प्रशासन अलोकतान्त्रिक भूमिकामा उत्रियो भने हामी चुप लागेर बस्दैनौं।”

त्यस्तै, महासंघ धनुषाका अध्यक्ष पुरन साहले भने, “हाम्रा साथीहरू घाइते भए, तर प्रहरी मौन छ। बाध्य भएर धर्नामा बस्नुपरेको हो। माग पूरा नभए थप कठोर आन्दोलनमा जान्छौं।”

पत्रकार महासंघले आइतबारको धर्नालाई पहिलो चरणको दबाबमूलक कार्यक्रमको रुपमा लिएको छ। दोषी पक्राउ नभए चरणबद्ध आन्दोलन घोषणा गर्ने तयारी भएको अध्यक्ष साहले जानकारी दिए।

यसैबीच, चुरे तथा वन जंगल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनिल यादवले वकिलहरुले गुण्डाशैलीमा गरेको आक्रमणप्रति आपत्ति जनाउँदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।

Leave a Comment