सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत, परिवारका सदस्य प्रहरीको सम्पर्कमा

Spread the love

काठमाडौँ । रौतहटको गौर नगरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ।

मुठवलवा गेट नजिकै भेटिएकी ती महिला गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए।

माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन्। तर, ४ वर्षीय छोरालाई पढाउनका लागि उनी गौर–२ महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन्।

सुटकेसभित्र कुईनो र घुँडा जोडेर प्याक गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। नाकबाट रगत बगेको देखिए पनि शरीरमा अन्य कुनै चोटपटक नदेखिएको डिएसपी कार्कीले बताए।

मृतकको परिवार प्रहरी सम्पर्कमा आएको छ भने उनका श्रीमान् पनि भारतबाट नेपाल आइसकेको जानकारी प्रहरीले दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Leave a Comment