८ भदौ, रौतहट – रौतहटको गौरमा सुटकेसभित्र एक महिलाको शव फेला परेको छ। गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडक किनारमा बेवारिसे अवस्थामा राखिएको सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले जानकारी दिएका छन्।
शनिबार राति डोरीले बाँधिएको अवस्थामा सुटकेस भेटिएपछि आज बिहान प्रहरी टोलीले खोलेर हेर्दा महिलाको शव भित्र कोचेर राखिएको अवस्थामा फेला परेको हो। मृतकको पहिचान खुलेको छैन।
प्रहरीले मुचुल्का उठाई शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ। घटनास्थल नजिकै रहेको विद्यालयको सीसीटीभी फुटेज जाँच भइरहेको र घटनाको थप अनुसन्धान जारी रहेको डिएसपी कार्कीले बताए।
यसअघि पनि यसै साताभित्र रौतहटमा तीन जनाको शव भेटिइसकेको छ। नेपाल लजमा सप्तरीका उपेन्द्र भगत मृत फेला परेका थिए भने गौर–५ मा सहाबुदिन मिया छुरा प्रहारबाट मारिएका थिए। आज भेटिएको अज्ञात महिलाको शवसँगै मृतक संख्या तीन पुगेको छ।