काठमाडौँ । विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफ्ना माग समेटिएको छैन भन्दै निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे। उनीहरूले आ–आफ्ना ब्यानरसहित सडकमा उत्रिएर प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा ब्यानर नटेक्न आग्रह गरिएको भए पनि केही शिक्षकहरू ब्यानर टेक्दै हिँडेका देखिएका थिए। प्रदर्शनकारीहरूले नयाँ बानेश्वर चोकसम्म र्याली निकाली पुनः माइतीघर फर्किएर कोणसभा गरेका छन्।
प्याब्सन, एनप्याब्सन र हिसानले बुधबार पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए। उनीहरूले विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० को प्रतिवेदनमा समावेश गरिएको प्रावधान—निजी विद्यालयले १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने र निजी विद्यालयलाई क्रमशः गैर–नाफामूलक बनाइने व्यवस्था—हटाउन माग गरेका छन्।




