नेपाली आरोही पाण्डेले इन्डोनेसियाको कार्सटेन्स पिरामिड सफलतापूर्वक आरोहण

Spread the love

काठमाडौं, भदौ १७। नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले इन्डोनेसियामा रहेको ओसियानियाको उच्चतम शिखर कार्सटेन्स पिरामिड सफलतापूर्वक आरोहण गरेका छन्।

अगष्ट १७ का दिन बिहान करिब ९:३० बजे उनले शिखरमा पुगेर नेपालको राष्ट्रिय झण्डा फहराएका थिए। सात महादेशका सातवटा अग्ला शिखर चढ्ने लक्ष्यसहितको सेभेन समिट अभियान अन्तर्गत पाण्डेले यो पाँचौँ शिखर आरोहण गरेका हुन्।

पाण्डेले यसअघि सगरमाथा (२०१८), युरोपको माउण्ट एल्ब्रस, अफ्रिकाको किलिमाञ्जारो (२०२४ नोभेम्बर) र दक्षिण अमेरिकाको अकोन्कागुआ आरोहण गरिसकेका छन्। उनी सन् २०२२ देखि यो अभियानमा सक्रिय छन्।

कार्सटेन्स पिरामिड समुद्री सतहबाट करिब ४,८८४ मिटर उचाइमा रहेको पपुआ क्षेत्रमा पर्छ। यसलाई नेदरल्याण्ड्सका खोजकर्ता जोन कार्सटेन्सले पहिलोपटक देखेका थिए। भूमध्यरेखासमीप रहेको यो शिला-पर्वत आरोहणका दृष्टिले निकै कठिन मानिन्छ।

पाण्डेले भने, “यो पर्वतको बनोटका कारण प्रायः आरोहण डोरीमा भर पर्नुपर्ने हुन्छ। रक क्लाइम्बिङ शैलीमा चढ्नुपर्ने भएकाले आरोहण अझ कठिन लाग्यो। तर, त्रिकोणाकार शिखरमा राष्ट्रिय झण्डा फहराउँदा अपार गौरव महसुस भयो।”

पाण्डेसँगै दुई जना अमेरिकी, एक जना पोल्याण्डका आरोही र दुई जना स्थानीयसहितको टोलीले शिखर सफलतापूर्वक आरोहण गरेको थियो। संयोगवश, सोही दिन इन्डोनेसियाको ८०औं स्वतन्त्रता दिवस परेकाले त्यहाँका आरोहीहरूले यसलाई विशेष उत्सवका रूपमा मनाएको पाण्डेले बताए।

आफ्ना प्रत्येक आरोहणमा जलवायु परिवर्तनको विषय उठाउँदै आएका पाण्डेले यसपटक पनि स्थानीय समुदायसँग चरम मौसमी अवस्था, बढ्दो गर्मी र असामान्य वर्षाबारे छलफल गरेका थिए।

उनले अब उत्तरी अमेरिका (डेनाली), अण्टार्कटिका (भिन्सन) र अस्ट्रेलिया (कोसिउस्को) आरोहण गर्ने योजना रहेको बताए। अभियान पूरा गरेपछि पुनः नेपाल फर्किएर सगरमाथामै अन्तिम आरोहण गरी आफ्नो सेभेन समिट यात्रा समापन गर्ने उनको योजना छ।

Leave a Comment