राजेन्द्र महतोको ‘अधुरा क्रान्ति’ फेरि सत्तासँग नजिक

Spread the love

२८ साउन, काठमाडौं । मधेश आन्दोलन, पहिचानको राजनीति र सत्तासँगको अवसरवादी खेलमा पटक–पटक चर्चामा आएका राजेन्द्र महतो फेरि नयाँ मोर्चामा देखिएका छन्। सर्लाहीबाट २०७९ को निर्वाचनमा पराजित भएसँगै उनी पहिचान आन्दोलनतर्फ मोडिएका थिए। बिहीबार उनले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग कार्यगत एकता गरेका छन्, जसलाई पार्टी एकीकरणको प्रारम्भिक कदमका रूपमा लिइएको छ।

अतीतमा मधेश मुद्दामै केन्द्रित रहेका महतो चुनाव हारेपछि हिमाल–पहाडका आदिवासी/जनजातिका अधिकारबारे पनि बोल्न थाले। २०८० सालमा उनले ‘अधुरा क्रान्ति’ नामक पुस्तक प्रकाशित गर्दै बहुराष्ट्रिय राज्य निर्माणको प्रस्ताव अघि सारे। त्यसपछि राष्ट्रिय मुक्ति पार्टी गठन गरी पहाड–हिमालका संगठनसँग जोडिए र काठमाडौं, पूर्वी पहाडमा सक्रिय भए।

अशोक राई पनि पहिचानको मुद्दामा एमाले छोडेका नेता हुन्। दुवैको संगठनात्मक आधार मधेशदेखि पहाडसम्म फैलिएको हुँदा संयुक्त शक्ति विस्तार गर्ने लक्ष्यसहित उनीहरू एकतामा पुगेका हुन्। घोषणापत्रमा जातीय, वर्ण, रंग तथा सबै प्रकारका भेदभाव अन्त्य गर्ने, सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्ने तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्ने प्रतिवद्धता गरिएको छ।

महतोको राजनीतिक अतीत भने स्थिर छैन। उनी विभिन्न समयमा परस्परविरोधी दलसँग मोर्चाबन्दीमा उभिएका छन्। २०७८ मा उपप्रधानमन्त्री हुँदा ‘बहुल राष्ट्रिय राज्य’को पक्षमा दिएको अभिव्यक्ति विवादमा परेको थियो। अहिले पनि यही मुद्दा बोकेर अशोक राईसँग हातेमालो गरेका छन्।

यो कार्यगत एकताले महतोको ‘अधुरा क्रान्ति’ साँच्चै अधिकार दिलाएर पूरा हुन्छ कि फेरि सत्ताको भर्‍याङ चढ्ने माध्यम मात्र बन्छ, यसको जवाफ समयले दिनेछ।

Leave a Comment