ओलीको भारत भ्रमण तयारी : तोडिनेछन् विगतका केही परम्परा

Spread the love

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। उनले अगस्ट ३१ र सेप्टेम्बर १ (भदौ १५ र १६) मा बेइजिङमा हुने शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भएर फर्किएपछि भारत जाने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ गतेबाट सुरु हुनेछ। तयारीका विषयमा छलफल गर्न भारतीय विदेश सचिव विक्रम मिश्री आगामी आइतबार काठमाडौं आउने तय भएको छ।

प्रधानमन्त्री बनेको १४ महिनापछि हुन लागेको यस भ्रमणमा विगतका केही परम्परा तोडिने देखिएको छ। यसपटक भ्रमण दुई दिनको मात्र हुनेछ र असोज १ गते नै टोली फर्कनेछ। नेपालका अघिल्ला प्रधानमन्त्रीको भारत भ्रमणमा यो सम्भवत: अहिलेसम्मकै छोटो अवधि हो।

अर्को फरक पक्ष भनेको ओली–मोदी भेट हो। यसपटक वार्ता नयाँदिल्लीको हैदरावाद हाउसमा नभई बिहारको बोधगयामा हुने तयारी छ। बोधगया गौतम बुद्धले ज्ञान प्राप्त गरेको ऐतिहासिक स्थल हो।

‘भ्रमणका अन्य विवरण अझै तय भएको छैन,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘भारतीय विदेश सचिव मिश्री काठमाडौं आएपछि विस्तृत छलफल हुनेछ।’

प्रधानमन्त्री कार्यालयका अनुसार यो भ्रमणमा ठूला एजेन्डा भन्दा पनि दुईपक्षीय सम्बन्ध सुदृढ बनाउने, विगतका समझदारीलाई निरन्तरता दिने र केही नयाँ परियोजना अघि बढाउने विषयमा ध्यान केन्द्रित हुनेछ।

news from onlinekhabar

Leave a Comment