नयाँ दिल्ली । भारतले शुक्रबार ७९ औँ स्वतन्त्रता दिवस धुमधामका साथ मनाउँदैछ। प्रत्येक वर्ष १५ अगस्टमा ब्रिटिस उपनिवेशवादको अन्त्य र स्वतन्त्र राष्ट्रको रूपमा भारतको उदयको प्रतीकस्वरूप यो दिवस मनाइन्छ।
यो दिन भारतको स्वतन्त्रता सङ्घर्षमा अहिंसात्मक आन्दोलन, सविनय अवज्ञा र देशभक्तिका साथ बलिदान गरेका अनगिन्ती स्वतन्त्रता सेनानीहरूको योगदानलाई स्मरण गर्ने अवसर हो। १५ अगस्ट १९४७ भन्दा अघि भारत ब्रिटिस शासनअन्तर्गत थियो, जहाँ स्वतन्त्रताको लागि लामो संघर्षमा असहयोग आन्दोलन (१९२०-२२), सविनय अवज्ञा आन्दोलन (१९३०-३२) र भारत छोडो आन्दोलन (१९४२) ले महत्वपूर्ण भूमिका खेले। दोस्रो विश्वयुद्धपछि कमजोर बनेको ब्रिटिस सरकारले १९४७ को भारतीय स्वतन्त्रता ऐनमार्फत भारतलाई स्वतन्त्रता दियो, जसअन्तर्गत देश दुई भागमा विभाजन भई भारत र पाकिस्तान बने।
१४–१५ अगस्टको मध्यरातमा भारत स्वतन्त्र राष्ट्रको रूपमा जन्मियो। तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले प्रसिद्ध ‘नियतिसँगको भेट’ भाषण दिँदै नयाँ यात्राको सुरुवात गरेका थिए।
स्वतन्त्रता दिवसमा देशभर देशभक्ति र एकताको भावना जगाउने विभिन्न कार्यक्रम हुन्छन्। मुख्य समारोह राजधानी दिल्लीको लाल किल्लामा आयोजना गरिन्छ, जहाँ प्रधानमन्त्रीले झन्डोत्तोलन, २१ तोपको सलामी र राष्ट्रगानको साथ राष्ट्रलाई सम्बोधन गर्छन्।
आज प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार १२ औँ पटक लाल किल्लाबाट भाषण दिनेछन्। यस पटक २६ राज्य र केन्द्रशासित प्रदेशका ८५ गाउँका सरपञ्चहरूलाई विशेष अतिथि बनाइएको छ। लाल किल्ला र वरपर कडा सुरक्षा गरिएको छ, जसमा ११ हजारभन्दा बढी सुरक्षाकर्मी, तीन हजार ट्राफिक प्रहरी, स्नाइपर, एन्टी-ड्रोन युनिट, सीसीटीभी, अनुहार पहिचान प्रणाली र सवारी निगरानी प्रणाली तैनाथ छन्।