
बारा । विशेष सूचनाको आधारमा २०८२ साउन २५ गते जिल्ला प्रहरी कार्यालय बारा र अस्थायी प्रहरी पोष्ट बसपार्क, कलैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध सिलाई मेसिन बरामद गरेको छ।
प्र.ना.नि. मेघराज प्रसाद साहको कमाण्डमा गएको टोलीले कलैया उप–महानगरपालिका–५, दरबारटोलस्थित ५० वर्षीय नैमुदिन अंसारीको तीन तल्ले पक्की घरको भुईँतलामा रहेको सटरमा छापा मार्दा, बिलभरपाई नभएका विभिन्न कम्पनीका २८ वटा नयाँ सिलाई मेसिन फेला पारेको हो। बरामद सामानको मूल्य करिब ३ लाख ६४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
साथै घटनास्थलबाट कलैया उप–महानगरपालिका–१६ का ३० वर्षीय कलिम अंसारीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

