
काठमाडौँ । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने लक्ष्यसहित पर्वतारोही प्रकाशराज पाण्डे ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो कास्ट्रेन्ज पिरामिड (पुन्जाक जाया) आरोहणका लागि इण्डोनेशिया प्रस्थान गर्न लाग्नुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अभियानको सफलताका लागि शुभकामना दिनुभयो। पाण्डे आगामी अगष्ट १९ मा प्रस्थान गर्ने कार्यक्रम छ।

रामेछाप लिखु तामाकोसी–७, तिल्पुङका पाण्डे हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ मा बसोबास गर्दै पर्वतारोहण र सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ। उहाँले सन् २०१६ मा पर्वतारोहण सुरु गरी २०१८ मा सगरमाथा चढ्नुभएको थियो। त्यसयता मनास्लु, आमादब्लमसहित दर्जनौं हिमाल चढिसक्नुभएका पाण्डेले सेभेन समिट अभियानअन्तर्गत २०२४ मा युरोपको माउन्ट एलब्रस, अफ्रिकाको किलिमन्जारो र दक्षिण अमेरिकाको अकोन्कागुआ आरोहण गरिसक्नुभएको छ।
बालुवाटारमा आयोजित कार्यक्रममा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले पाण्डेलाई जिल्लाको गौरवको रूपमा उल्लेख गर्दै सफलताको शुभकामना दिनुभयो।
मकालु आउटफिटको सहयोगमा पाण्डेले यो अभियानमार्फत जलवायु परिवर्तनका असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतना जगाउने उद्देश्य राख्नुभएको छ। उहाँले पर्वतीय मुलुक नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको भन्दै यो मुद्दामा सबै देशले गम्भीर चासो दिनुपर्नेमा जोड दिनुभयो।
४,८८४ मिटर अग्लो कास्ट्रेन्ज पिरामिड भूमध्यरेखीय क्षेत्रमा अवस्थित चुनौतीपूर्ण चुचुरो हो, जसलाई डच समुद्र यात्री जोन कास्ट्रेन्जले विश्वसामु चिनाएका थिए। यो आरोहणपछि पाण्डे क्रमशः अमेरिका र अन्टार्कटिका हुँदै नेपाल फर्केर पुनः सगरमाथामा झण्डा फहराउने योजना राख्नुभएको छ।