जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

Spread the love

२० साउन, जीतपुर

लालबाबू कुशवाहा

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आज एक विशेष कार्यक्रमका साथ आफ्नो ८ औं स्थापना दिवस मनाएको छ। संघको कार्यालयमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकाल रहेका थिए भने कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष मोहन शर्मा लामिछानेले गरे।

कार्यक्रममा अध्यक्ष लामिछानेले वि.सं. २०७४ मा स्थापना भएको संघलाई आजको अवस्था सम्म पुर्‍याउन अग्रजहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै, संघ उनीहरूको मार्गदर्शन र सल्लाहअनुसार अघि बढ्ने प्रतिवद्धता जनाए। उनले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा संघले सञ्चालन गर्दै आएको कार्यक्रमहरूको निरन्तरतासँगै आगामी दिनमा अझ प्रभावकारी ढंगले योजना अगाडि बढाइने जानकारी दिए।

संघको नवनिर्मित सभाहलको उद्घाटनसमेत आजकै दिन गरिएको छ। अध्यक्ष लामिछानेले सभाहल निर्माणमा साथ दिने सबै सहयोगी संस्था र व्यक्तिहरुप्रति आभार व्यक्त गरे।

केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले संघको स्थायित्व र प्रभावशाली भूमिकाको प्रशंसा गर्दै यसले स्थानीय स्तरमा आर्थिक समृद्धिमा उल्लेखनीय योगदान दिँदै आएको बताए। उनले स्थापना दिवसको अवसरमा संघसँग आबद्ध सबै व्यवसायीहरूको सफलताको कामना व्यक्त गरे।

कार्यक्रममा नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, संघका महासचिव प्रकाश गिरी, सल्लाहकार गणेश प्रसाद साह लगायतले शुभकामना मन्तव्य राखेका थिए। महासचिव गिरिका अनुसार सभाहल निर्माणमा योगदान दिने संस्थाहरूलाई सम्मान गरिएको छ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, उपाध्यक्ष गजेन्द्र गुप्ता, कोषाध्यक्ष रामबाबु साह कलवार लगायत संघका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण महासचिव प्रकाश गिरिले गरेका थिए।

Leave a Comment