१२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरूमध्ये माइली छोरी सुजता हायू प्रहरी सम्पर्कमा आएकी छन् ।
झन्डै तीन महिनादेखि काठमाडौंमा बस्दै आएकी सुजता र उनका श्रीमान् आयुष श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सम्पर्कमा आएको प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
हायू परिवारका १६ जना बेपत्ता भएको सूचीमा सुजताको नाम पनि उल्लेख थियो । तर, प्रहरी सम्पर्कमा आएसँगै उनी बेपत्ताको सूचीबाट हटेकी छन् ।
प्रहरीसँगको बयानमा सुजताले अन्य परिवारका सदस्यहरूसँग हालसम्म कुनै सम्पर्क नभएको बताएकी छन् । साथै, परिवारको खोजीमा सहयोग गरिदिन आग्रहसमेत गरेकी छन् ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।
News from Onlinekhabar